जुम्ला एयरपोर्टमा हवाई इन्धन डिपो स्थापना हुने

जुम्ला । कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो ।
जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलादेखि चलेको थियो । तर अहिले सम्म परिणाम मुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल विस्तार,हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवाल लामो समयदेखि पहल गर्दै आएकी थिइन् ।
चन्दननाथ नगरपालिकाको मेयर हुँदै गर्दा २०७६ सालमा एयरपोर्ट विस्तारका लागि समेत डिपिआर गर्न दबाब दिएकी थिइन् । आयल नियमले असोज २२ गते सिफारिस गर्दै जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गर्ने जनाएको छ ।
तत्काल अध्ययन समिति बनाई कार्य प्रारम्भ गर्न आयल निगम नेपालले सोमबार जारी गरेको सिफारिस पत्रमा उल्लेख गरिएको छ । डिपो स्थापनाका लागि दसैँपछि नेपाल आयल निगमको टोली जुम्ला जाँदैछ ।
‘जग्गा प्राप्तिको लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भएको छ ।’ सांसद सेजुवालले भने,“स्थलगत अनुगमन र कार्यान्वयनको लागि दसैँ र तिहारको बीचमा नेपाल आयल निगमको प्राविधिक टोली जुम्ला जाने सहमति भएको छ । विस्तृत अध्ययन पश्चात् तत्काल नै डिपो स्थापना हुने छ ।”

कर्णालीका सबै जिल्लामा उडान गर्न सहज हुने र सुरक्षित विमानस्थल पनि जुम्ला हो । तर नियमित उडान नहुँदा समस्या भएको छ । हवाई इन्धनको डिपो जुम्लामै भएको खण्डमा जुम्ला हुँदै हुम्ला, डोल्पा, मुगु जाने आन्तरिक बाह्य पर्यटकको आगमनमा उल्लेखीय वृद्धि हुने आशा गरिएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए।
सांसद सेजुवालका अनुसार धावनमार्गको जग्गा अधिग्रहणका लागि सोको मुआब्जा वितरण गर्नका लागि हाल ५० लाख मात्रै विनियोजन भएको छ । थप बजेट रकमान्तरको समयमा व्यवस्था हुने छ ।
यद्यपि नागरिक उड्डयन प्राधिकरणले जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेट तत्काल नै कार्यान्वयन हुने स्थिति छैन । जुम्ला विमानस्थल विस्तारका लागि १८३।८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ ।
जसका लागि ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ । तर अहिले सम्म जग्गा अधिग्रहणका लागि बजेट विनियोजन हुन सकेको छैन । जग्गा अधिग्रहणका लागि परामर्श गर्न पत्र आएपनि बजेट नआए सम्म कुनै काम अघि नबढ्ने देखिएको छ ।
जग्गा अधिग्रहणका लागि बजेट नजुट्दा अर्थमन्त्रीदेखि प्राधिकरणका सिइओलाई पहिलो चरणमा न्यूनतम २० करोड सम्म बजेट छुटाई दिन दबाब दिएको सांसद सेजुवालले बताए।
जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए सम्म विमानस्थल विस्तारका लागि आएको बजेट कार्यान्वयन नहुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी बताउँछन् । विगतको भन्दा पछिल्लो वर्षमा जुम्ली सांसदहरु सबै आआफ्नो ठाउँबाट लागेको बजेट जुट्ने आशा लागेको उनको भनाई छ । (रेडियो नेपाल)