नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका अनुसार प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैशी, भरत साउद, कमलप्रसाद तिमिल्सैना र बचनबहादुर सिंहको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका सिंह युवा संघका पूर्वअध्यक्ष, तिमिल्सैना प्रदेश कमिटी निवर्तमान उपाध्यक्ष, साउद पूर्व जिल्ला अध्यक्ष अछाम, जैशी जिविस अछामका पूर्वसभापति हुन् ।

यस्तै उपाध्यक्षमा ५ जना र सचिवमा ३ जनाको उम्मेदवारी परेको छ । उपसचिव (खुला) मा ६ जना र उपसचिव महिलातर्फ ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आज दिनभर उम्मेदवारी दर्ता, दाबी विरोध, फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचन सम्बन्धी सबै काम पूरा भईसक्नेछ ।

आज बेलुकी ५ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको छ । असोज २१ गते देखि धनगढीमा सुरु भएको एमाले प्रदेश अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट ६ सय ७५ जना प्रतिनिधि सहभागी प्रथम अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ ।

Translate »