कर्णाली प्रदेश सम्पन्न भएपछि मात्र मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् ।

सुर्खेत उद्योग वाणिज्य सङ्घले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता आवश्यक रहेको उल्लेख गरे ।

‘सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुन्छ,’ उनले भने, ‘कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेछ ।’

भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिमा विकास निर्माणलाई असर गर्न नहुनेमा जिकिर गरे । ‘विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपछ,’ उनले भने, कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमी कमजोरी सच्याएर काम गरे अबको १०÷१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिन्छ ।’

वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले प्रादेशिक ओैधोगिक ग्रामको कामपनि चाँडै सुरु हुने जानकारी पनि दिए । उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठुलो विमानस्थलका लागि अहिले देखिनै पहल गर्नुपर्ने आवश्यकता ओैल्याए ।

Translate »