मध्यावधि निर्वाचन रोक्नका लागि नेकपा एमालेको समर्थन लिए : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्नका लागि नेकपा एमालेको समर्थनमा सरकार गठन गरेको बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्तिपछि आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले गठबन्धनका सांसदहरूको सङ्ख्याले मध्यावधि निर्वाचनमा जाने सम्भावना देखिएकाले त्यसलाई रोक्न आफूले खोजेको बताए ।

सरकार निर्माणका लागि संविधानले देखाएको बाटो अनुसार प्रदेश प्रमुख समक्ष बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा आफू नियुक्त भएको कार्कीले दाबी गरे ।

पद तथा गोपनीयताको शपथग्रहण भोलि हुने र मन्त्रिमण्डलको सङ्ख्या बारेमा सांसदहरूसँग सल्लाह गरेर टुङ्गो लगाउने मुख्यमन्त्री कार्कीको भनाई छ ।

मुख्यमन्त्री कार्कीले ३० दिनभित्र कोशी प्रदेशसभामा विश्वासको मत लिने जनाए । नेकपा एमालेका ३९ र नेपाली काँग्रेसका ८ गरी ४७ जना प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखत गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

Translate »