चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्र सञ्चालनमा आएको हो ।
शनिबार प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरे । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउनेछन् ।
नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने बताउँदै आएका छन् । चौधरी फाउन्डेसनको सहयोगमा अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको सेवाका लागि चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरिएको बताए । चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउन्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउन्डेसनको प्रतिबद्धता छ ।
सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टीकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाए । बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउन्डेसनले महत्वपूर्ण योगदान दिएको बताए ।


