सुर्खेत मेडिकल कलेज स्थापनामा ढिलाई किन ?


सुर्खेत मेडिकल कलेज स्थापनाको काम विगत आठ वर्षदेखि ईआईएमै अड्कियो छ । संघीय सरकारले आर्थिक वर्ष २०७३–०७४ को बजेटमा सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । तर, सरकारी घोषणाअनुसार कर्णालीमा स्थापना हुनुपर्ने सुर्खेत मेडिकल कलेज स्थापनाको प्रक्रिया भने अझैपनि अगाडि बढ्न नसक्नुमा राजनीति ईच्छाशक्तिको कमी देखिन्छ । त्यहीं माथि मेडिकल कलेज निर्माण जस्तो विषयमा यहाँका विद्धान व्यक्तित्वदेखि समाजसेवी र बौद्धिक व्यक्तित्व भनिनेहरु समेत चुप लाग्नुको रहस्य बुझि नसक्नु छ । अहिले प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने सरकारी घोषणा सिर्फ चर्चामै सीमित छ । मेडिकल कलेज स्थापनाका लागि वीरेन्द्रनगरमा जग्गा पनि प्रस्ताव गरिएको छ । कलेज स्थापनाका लागि दुई वर्षअघि यसको गुरुयोजना पनि स्वीकृत भइसकेको छ । तर, कलेज स्थापनाको मुख्य काम वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) मा पुगेर अड्किएको छ। ईआईए प्रतिवेदनको अध्ययन र स्वीकृतिमा भएको ढिलाइका कारण मेडिकल कलेज स्थापना हुनेमै आशंका पैदा भएको हो । कलेज स्थापनाका लागि वीरेन्द्रनगरमा सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय नै खुलेको पाँच वर्ष वितिसक्यो । तर, हालसम्म पूर्वतयारीका सीमित काम बाहेक कलेज स्थापनाका लागि ठोस कार्य सुरु भएको छैन । आयोजनाले कलेज निर्माणका लागि ईआईए प्रतिवेदन तयार गर्न २०७६ जेठ २ गते शिक्षा मन्त्रालयबाट अनुमति पाएको थियो। मन्त्रालयको अनुमति पाएपछि आयोजनाले झण्डै पाँच वर्ष लगाएर ईआईए प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदन हाल वन तथा वातावरण मन्त्रालयमा पेश भएपनि काम अघि बढेको छैन् । कसको स्वार्थले रोकियो हो ? खोजी हुनु पर्दैन् । यसका लागि दोषी को हो ? किन फाइल अघि बढेन् ? जनताले सबै बुझिसकेका छन् ।

यतिका धेरै वर्ष वितिसक्दा समेत उक्त प्रतिवेदन मन्त्रालयबाट स्वीकृत हुन नसकेको कारणले मेडिकल कलेज स्थापनाको काम अगाडि बढ्न सकेको छैन । ईआईए प्रतिवेदन स्वीकृत नहुँदासम्म जग्गा प्राप्तिको काम पनि नहुने भएकाले कलेज स्थापनाका लागि भौतिक निर्माणको काम अघि बढाउन नसकिएको आयोजना कार्यालय बताउँछ । हरेक वर्ष संघीय सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा समेटिने तर स्थापनाको काम अघि बढ्न नसकेपछि सुर्खेत मेडिकल कलेज कागजमै सीमित हुने हो की भन्ने स्थानीयको आशंका प्रबल बन्दै गईरहेको छ । गुरुयोजना स्वीकृत भइसक्दा समेत ईआईए प्रतिवेदन स्वीकृतिमा भएको ढिलाइका कारण अन्यौलता बढेको हो । मेडिकल कलेज अन्तर्गत वीरेन्द्रनगरमा ६ सय शैयाको अस्पताल निर्माण गर्ने योजना छ । कर्णालीमा हाल ६ सय शैयाका अस्पताल छैनन् । यो कलेज स्थापना भएमा कर्णालीमा सुबिधायुक्त अस्पताल स्थापना हुने अपेक्षा गरिएको छ । पेश गरिएको ईआईए प्रतिवेदन वन मन्त्रालयको सुझावअनुसार आवश्यक संशोधन पनि भइसक्यो, अब बाँकी काम मन्त्रालयको हातमा छ । ईआईएमै धेरै समय लागेकाले मेडिकल कलेज स्थापना हुन नदिने तत्वहरु समेत सक्रिय रहेको स्थानीयको आशंका थप बढ्दै गईरहेको छ । यसरी कलेज स्थापनाको काम प्रक्रियामा अड्किनुको पछि अवरोधका लागि कुनै–न–कुनै तत्व सक्रिय भएको अनुमानलाई अब गलत भन्न नमिल्ने जस्तो देखिन्छ ।
किनभने पुरानो वर्वाद नभएर नयाँ बन्दैन् । त्यसैले अब तीनै तहका सरकारदेखि राजनीति दलहरुले पनि मेडिकल कलेज स्थापनामा ढिलाई हुनुको कारण खोज्नु पर्ने बेला आएको छ । सुर्खेत मात्र होइन, समग्र प्रदेशको समृद्धिसँग जोडिएको मेडिकल कलेज स्थापनामा भईरहेको ढिलासुस्तीमा जिम्मेवार रहेका कारक तत्वको खोजी मात्र होइन, आवश्यक परेका कार्वाही नै गर्नुपर्ने जरुरी भईसक्यो । अन्य प्रदेशहरुमा मेडिकल कलेजहरु धमाधम निर्माण भईरहँदा टाठाँबाँठा सुर्खेतीहरु चुप लागेर बस्नुको रहस्य माथि तहगत अध्ययन, अनुसन्धानको विषय बन्न पुगेको छ । निर्माण प्रक्रियामा जति ढिलाई हुन्छ, सुर्खेत त्यति नै पछाडी पर्छ । मेडिकल कलेज स्थापनाको आवश्यकता र यसको मर्म आम सुर्खेतबासीसँगै स्थानीय र प्रदेश सरकारलाई समेत बुझाउन मेडिकल कलेज आयोजना कार्यालयलले समेत चुकेको देखिन्छ । मेडिकल आयोजना कार्यालय नै चुप लागेर बस्दा निर्माण हुन नदिने तत्वहरुसँग मिलेको आम सर्वसाधारणको आशंकामा थप बल पुगेको देखिन्छ । त्यसैले मेडिकल कलेजको स्थापना बारेमा आयोजना कार्यालयले अन्तरक्रिया, छलफलसँगै प्रचारप्रसार गर्न आवश्यक भईसक्यो । कार्यालयमा बसेर तलब पचाउने काम भन्दा माथि उठेर आफ्नो दायित्व पुरा गर्न तीनै तहका सरकारसँग लविङ्ग, समन्वय, सहयोग र सहकार्य गर्नुपर्छ । त्यतिमात्र होइन, सुर्खेती अगुवाहरुले समेत अब मेडिकल कलेज स्थापनाका लागि आवश्यक परे आन्दोलनका कार्यक्रम नै सञ्चालन गर्नुपर्ने देखिन्छ । मेडिकल कलेज निर्माणमा कुनैपनि प्रकारको ढिलासुस्ती सह्य हुँदैन् । मेडिकल कलेज स्थापनामा सबै जुटौं ।

