सत्तारुढ गठबन्धन टुट्दैन् : माधवकुमार नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्तारुढ गठबन्धन टुट्ने र सरकार ढल्ने गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
आईतबार सुर्खेतको वीरेन्द्रनगरमा ‘मेची–महाकालि जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र गरिएपनि त्यो सफल नहुने दावी गरे ।

कोसी प्रदेशको विषयलाई लिएर गठबन्धन सरकार ढल्छ भनेर केहीले चुरिफुरी गरेको भन्दै उनले त्यस्तो गलत हल्ला नफैलाउन चेतावनी दिए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गराउँदै अध्यक्ष नेपालले आम नागरिकलाई भ्रष्टाचार विरुद्ध सचेत र जागरुक बनाउन सञ्चालन गरिएको मेची–महाकालि जागरण अभियान प्रभावकारी रहेको जानकारी दिए ।
कार्यक्रमलाई नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायतले सम्बोधन गरेका थिए ।