छिन्चु–जाजरकोट सडकमा बढी भाडा असुल्ने एक दर्जन सवारी साधन कार्वाहीमा

सुर्खेत ।  छिन्चु–जाजरकोट सडकखण्डमा मनपरी भाडा असुल्ने एक दर्जन सवारी साधनलाई कार्वाही गरिएको छ ।

चाडपर्व लक्षित अनुगमनका क्रममा आज यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिम, जिल्ला प्रशासन कार्यालय जाजरकोट, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतलगायतको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा आफुखुसी यात्रुबाट भाडा असुल्ने एक दर्जन सवारी साधनका चालकलाई कार्वाही गरिएको हो ।

इन्धनको मूल्यमा गिरावट आएपछि स्वचालित भाडा दर घटने कानूनी व्यवस्थाका वावजुद छिन्चु–जाजरकोट सडकखण्डमा गुड्ने सार्वजनिक सवारी साधनले आफुखुशी भाडा असुल्दै आएको पाईएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमका प्रमुख आनन्द चपाईले जानकारी दिए ।

उनले सार्वजनिक सवारी साधनले मनपरी भाडा असुल्ने गरेको गुनासो आएपछि कार्यालयको नेतृत्वमा स्थानीय प्रशासन, ट्राफिक प्रहरी, पत्रकार, नागरिक समाजलगायतको रोहवरमा पछिल्लो सवारी चेकजाँचलाई तीव्र पारिएको बताए ।

यता जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चाडपर्वका बेला सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रमसँगै अनुगमन तथा नियमनलाई निरन्तरता दिईरहेको जनाए ।

उनले निर्धारित भाडादर भन्दा बढी भाडा असुल्ने, रुटपरमिट विना नै सवारी चलाउने, तोकिएको रुटमा सवारी नचाउनले, क्षमता भन्दा बढी यात्रु, बोक्ने, आवश्यक कागजात निमय अनुसार नराख्ने सवारी साधनमाथि कार्वाही जारी राखिने बताए ।

अहिले संयुक्त अनुगमन टोलीले छिन्चु–जाजरकोट सडकखण्ड, जाजरकोट–डोल्पा सडक, चौरजहारी–मुसिकोट सडकलगायतका सवारी साधनको चेकजाँचमा कडाई गरिरहेको छ ।

Translate »