सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रर्वद्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासङ्घको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासङ्घको सम्पूर्ण संयन्त्रले काम गर्ने महासङ्घ अध्यक्ष ढकालले प्रतिबद्धता जनाए ।

अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले जनाए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने, ‘महासङ्घसँगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुनेछ । उनले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको आउनेमा विश्वास व्यक्त गर्दै प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा महासङ्घका उपाध्यक्षद्वय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासङ्घ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि धारणा व्यक्त गरेका थिए । महासङ्घले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारसँग पनि छलफल गरिरहेको छ । रासस

Translate »