बाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव हुँदै


डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा ‘बाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव’ हुने भएको छ । त्रिपुरासुन्दरी नगरपालिकाले पहिलो पटक धार्मिक तथा पर्यटन महोत्सवसँगै व्याटमिन्टन एवं तेस्रो मेयर कप आयोजना गर्न लागेको हो । धार्मिक तथा पर्यटन महोत्सवसँगै तेस्रो मेयर कप यहीं कार्तिक १२ देखि २२ गतेसम्म त्रिपुराकोट बजारमा आयोजना गरिने नगरपालिकाले बताएको छ ।
आइतबार मुल समारोह समितिले त्रिपुराकोट बजारमा पत्रकार सम्मेलनको आयोजना गरी धार्मिक तथा पर्यटन महोत्सवसँगै तेस्रो मेयर कपको सम्पूर्ण तयारीहरु पुरा भएको जानकारी दिएको हो । प्रसिद्ध शक्तिपिठ वाला त्रिपुरासुन्दरी मन्दिरको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्नु नै महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य रहेको मुल समारोह समितिका संयोजक रन्जित बुढाले बताए ।

उनले महोत्सव मार्फत स्थानीय उत्पादनको बजारीकरण, व्यापार व्यवसाय प्रवर्द्धनसँगै ग्रामीण अर्थतन्त्रलाई उकास्नु अर्को उद्देश्य रहेको जनाए । नगरपालिकाले महोत्वका लागि बीस लाख बजेट अनुमान गरेपनि लागत अनुमान अझै थपहुन सक्ने समारोह समितिका सदस्य सचिव हिराचन्द्र धरालाले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा गीत संगीत तथा नृत्यको प्रस्तुति रहने महोत्सव आयोजक कमिटीका सदस्य सचिव धरालाको भनाइ छ । महोत्सवमा तीन लाख राशीको खुल्ला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । डोल्पामा विस २०६५ साल यता दोस्रो पटक बृहत धार्मिक,साँस्कृतिक तथा पर्यटन महोत्व हुन लागेको छ । यद्यपि ! डोल्पामा स्थानीय तहले नै आयोजना गर्न लागेको यो नै पहिलो धार्मिक तथा पर्यटन महोत्सव हो ।

