जहाजको टिकट नपाएर कर्णालीका यात्रु नेपालगञ्ज एयरपोर्टमा अलपत्र

बाँके । दसैँको रौनक आइसकेको छ तर कर्णाली प्रदेशका धेरै नागरिक पर्याप्त हवाई उडान नहुँदा नेपालगञ्ज विमानस्थलमै अलपत्र परेका छन् । उनीहरू कहिले उड्छन् भन्ने यकिन छैन । टिकट नपाउँदा सर्वसाधारण अलपत्र परेका हुन् । टिकट नपाउँदा उनीहरू राँगाका होटेलहरूमा बस्न बाध्य भएका छन् ।

स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।

निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको एक यात्रुले बताए । उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।

तर नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेसन प्रमुख मानबहादुर चौधरीले दसैँको समयमा यात्रुको चाप बढी हुने हुँदा उडान थप गरिएको जनाए । यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो । अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको उनको भनाइ छ ।

यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको छ । तरपनि यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धा वृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए ।

Translate »