राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ : प्रधानमन्त्री

रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धि विधेयक टुंग्याउन सरकारले पहल गरिरहेको बताए ।
‘गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ । महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन । तसर्थ, यो परिवर्तनको हकदार तपाईँहरू हुनुहुन्छ,’ उनले भने ।

यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको बताउँदै उनले यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार भएको बताए । फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईँहरूमाझ आएको छु, उनले भने ।
उनले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको र यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान भएको बताए ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्गग्याउने विधेयक सदनमा पुगेको छ । यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन् । सहिद पार्कहरू, स्तम्भहरू बन्छन् । यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ । मासिक भत्तालगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिने छ,’ उनले भने ।