बाँकेमा प्रहरी नै ‘असुरक्षित’ : उद्दारमा खटिएका डीएसपीमाथि चक्कु प्रहार


बाँके । इलाका प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् ।
कोहलपुर–२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्दारका लागि खटिएका डीएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्दारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट डीएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । प्रनाउ तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए ।
त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करीब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्दारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन नभएको बताए । रासस

