मुगुमा एकै परिवारका चारको हत्या

मुगु । मुगुको मन्दुगाँउमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छाँयानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

शुक्रवार विहान ११ बजे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रहरी नायव उपरीक्षक थापाको नेतृत्वमा प्रहरी पुगेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक आमा श्रीदेवि बोहोरा छोरा छोरी सहित ७ गते विहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राती हत्या भएको अनुमान गरिएको छ ।

९ गते विहानैदेखि घर बाहिर ताला लगाएको देखिएपछि छिमेकिहरुले विहानै खेतबारीमा काम गर्न गएका होलान भन्ने सोचेपनि १० गते विहान पनि घरमा ताला लगाएको देखेपछि गाउँलेले फेरि माइती गएकी भनी माइतिमा फोन गर्दा ८ गते नै फर्केको जानकारी दिएपछि शुक्रबार विहान १० बजे तिर ढोकाको ताला फोडेर भित्र हेदा चारै जना मृत अवस्थामा फेला परेका थिए ।

मृतकमा श्रीमान बैदेशिक रोजगारीमा गएका छन् । हत्या कसले र किन भयो भन्ने बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान गरि हत्यारा पत्ता लगाएर कानुनको कठघरामा उभ्याइने प्रनाउ थापाले प्रतिवद्धता जनाए । हत्या गरिएका चारै जनाको लास पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पूर्वमा पर्छ ।

Translate »