मुगु सामूहिक हत्या अपडेट : अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन


मुगु । मुगु सामूहिक हत्या प्रकरण बारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटना स्थलतर्फ हिँडेको छ । सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ वटा प्रहरीको विशेष टोली शुक्रबार साँझ मुगुतर्फ हिँडेको हो ।
सुर्खेतबाट सिआइवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा ५ सदस्सीय प्रहरी टोली र अर्को डक टोली अनुसन्धान गर्न मुगु हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भिम ढकालले दिए । टोली शुक्रबार राती कालिकोट बसेर शनिवार बिहानै मुगु पुगी हत्या बारे विशेष अनुसन्धान थाल्ने उनको भनाइ छ ।
जिल्लाको जिल्ला छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँकी २८ वर्षिया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिने छोरा रहर बोहोरा र ८ वर्षिया छोरी अप्सरा बोहराको बिहीबार साँझ हत्या भएको थियो ।

शुक्रवार बिहान ९ बजे हत्या बारे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ विरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको हो । मृतक आमा छोरा छोरीसहित ७ गते बिहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थियौं । बिहानै सिमि टिप्न खेत गरा तिर गएका होलान् सोचेर कसैले ख्यालै गरेनौं । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि फेरि माइती गएकी हुन की भनेर माइतीलाई फोन गर्दा ८ गते नै गएको भनेपछि शुक्रबार बिहान १० बजे तिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको घाँटी रेटी बीभत्स हत्या भएको देखियो,’ ‘मृतक श्रीदेवीकी माइजू रेसा बोहोराले भनिन् ।
शुक्रबार दिनभरी जसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटना स्थललाई शिल गरि पहरा दिइरहेको छ ।

