राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक भव्य स्वागत गरे

महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्कियो

पोखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरामा भव्य स्वागत गरिएको छ । नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका महासचिव गुटेरेस सोमबार दिउँसो हवाई मार्ग हुँदै करिब २ः०५ बजे पोखरा विमानस्थल (पुरानो) अवतरण गर्दा उनलाई पोखरामा बाजा गाजा सहित भव्य स्वागत सत्कार गरिएको हो ।

सोमबार महासचिव गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पर्यटन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य उपमेयर मन्जुदेवि गुरुङले माला, खादा, नेपाली ढाकाटोपी लगाएर स्वागत गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैं भान मिल्थ्यो ।

उनको स्वागतमा पन्चे बाजा सहित ताया मचाः नृत्य सहितको विभिन्न जनजातिको भेषभुष सहित झाकी प्रदर्शनी समेत गरिएको थियो । फिस्टेल हेलिकोप्टरबाट अवतरण गरेका महासचिव गुटेरेस पोखरा विमानस्थलमा भव्य स्वागत गरेको देखेर खुसि व्यक्त गरेका थिए । पोखरा विमानस्थलमा करिब ५० मिटर रातो कार्पेट विच्छाइएको थियो भने उनलाई स्वागत गर्न प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायतका विभिन्न संघ संस्थाहरू विमानस्थलमा पुगेका थिए ।

महासचिव गुटेरेस युएनको गाडीमा सवार भई कालो सिसा लगाएको गाडी भित्रै बसेर सबैलाई हात हल्लाएका थिए । महासचिव गुटेरेसलाई पोखरामा शान्ति सुरक्षा कायम गर्न कास्की प्रहरीले फिस्टेल जलदेखि पोखरा विमानस्थल क्षेत्र वरिपरि बाक्लो रुपमा सुरक्षाकर्मी खटाएको थियो । पोखरा लेकसाइड स्थित फिस्टेल लजमा उनी आज एक रात बस्ने छन् ।

मङ्गलवार बिहान महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर अवलोकन गर्न जाने कार्यक्रम छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत बिहान ६ः३० बजे अन्नपूर्ण आधार शिविर (एबीसी) प्रस्थान गर्ने छन २० मिनेटको यात्रामा एबीसी पुगेसँगै उनले करिब एबीसीमा ४० मिनेट अध्ययन अवलोकन गर्ने समय तालिका सार्वजनिक गरिएको छ ।

बिहान पोखरा क्षेत्रका पत्रकारसँग भेटघाट गर्ने र त्यस पछि ८ः१५ बजे भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । उनी करिब २० मिनेटको यात्रामा भैरहवा पुग्ने छन भने पोखराको आकाश धेरै दिन देखि खुल्ला भएपनि महासचिव गुटेरेस पोखरा आउँदा कुहिरोले हिमश्रृखला छेकिएको थियो ।

राष्ट्रसङ्घका महासचिवको करिब डेढ दशक पछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । उनको भ्रमणको क्रममा शान्ति प्रक्रिया, नेपालको दिगो विकास, जलवायु परिवर्तन, कोरोनाबाट प्रभावित भएको अर्थतन्त्र लगायतको विषयमा समेत छलफल हुने भएको बताइएको छ ।

 

Translate »