पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी पाईयो : स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङरोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइकर्मी र पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए । उनका अनुसार बालबालिका, प्रजनन समूहका वयष्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ ।
सिसा एक प्रकारको रसायन हो, जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ ।

मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उनले बताए । पेन्टस्, सौन्दर्य साधन, रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिमा लेड (सिसा) पाइने गरेको उनले बताए । लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।
सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ । सिसा बिजुलीको तेल, श्रृङ्गारका सामग्री, घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ। यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
लेड (सिसा) को विषले मानिसलाई मस्तिष्क, स्नायु र मानिसको व्यवहारमा असामान्य बनाउने गर्दछ ।

