उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन

डोल्पा । उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चीनतर्फ नाका खुल्ला गरिए पनि आवतजावत भने हुन सकेको छैन ।

आर्थिक गतिविधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिए । “चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो”, उनले भने, सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमाक्षेत्रमा हिउँ परेको थियो ।

अहिले हिउँ र चिसोका कारण आवतजावत गर्न नसक्दा खुल्ला गरिएको सीमा नाकाबाट कुनै पनि फाइदा लिन सकिएको छैन । सीमा क्षेत्र खुलाउन पहल गरेका उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य वीरबहादुर शाहीले सीमा खुल्ला गरे पनि लाभ लिन नसक्दा समस्या भएको बताए । उनले भने, “चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा कुनै गतिविधि हुन सकेको छैन ।”

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तीन महिने प्रगति विवरणमा सिमा खुलाउने विषयलाई समेटेपनि चिसोकै कारण समस्या आएको जानकारी दिँदै हामीले यता प्रक्रिया पूरा गर्दा गर्दै ढिलो भएकाले चिसो बाधक बनेर आएको बताए । चौध नम्बरको क्याटो र १५ नम्बकरको मरिम्ला नाका चिनसँग जोडिएको छ ।

तिब्बतको सिँगाचे डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोरोनाका कारण खुल्न नसकेको नाका निकै लामो प्रयासपछि खुले पनि सदुपयोग हुन नसकेको हो । उपल्लो डोल्पामा खाद्यान्नलगायत सामग्रीहरु ढुवानी गर्न गरिएको प्रयास चिसोका कारण फेरि रोकिएको छ । उपल्लो डोल्पामा तीन पालिका छन् । अब चिसोका कारण उपल्लो डोल्पावासीहरु तलतिर झर्ने समय सुरु भइसकेको छ । यहाँका विद्यालयहरु चिसोमा बन्द हुने गर्दछन् । अहिले अधिकांश सरकारी कर्मचारी पनि उपल्लो डोल्पा पुगेका छैनन् । रासस

Translate »