कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबीच सम्झौता

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबै भन्दा ठुलो आधुनिक अस्पताल सनवे मेडिकल सेन्टरबीच विशेषज्ञ सेवा आदान प्रदान गर्ने बारे सम्झौता भएको छ ।
एक औपचारिक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र मलेसियाको अस्पतालबीच एकआपसमा जनशक्ति र सेवाको सहकार्यको सुरुवात गर्ने गरी मलेसियामा सम्झौता भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. मंगल रावल र सनवे मेडिकल हेल्थ केयर गुरुपको तर्फबाट प्रेसिडेन्ट डा. लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेल पनि सहभागी थिए ।
राजदुत पौडेलले कर्णालीका नागरिकलाई विशेषज्ञ सेवाको पहुँचमा ल्याउन अहोरात्र खटिएको र कर्णाली प्रतिष्ठान बृद्धि विकासमा सम्झौताले उल्लेखीय भुमिका खेल्ने बताए।

उनले राज्य अझै कर्णालीको स्वास्थ्य क्षेत्रमा अपेक्षित लगानी गर्न नसकेको र स्रोत र दक्षताले भ्याए सम्म प्रतिष्ठानले गाउँ गाउँमा विशषज्ञ सेवा पुराएकोमा खुसी व्यक्त गरे।
मलेसियाको आधुनिक अस्पतालसँगको सम्झौताले दूर्गम कर्णाली क्षेत्रको स्वास्थ्य सेवा सुधारका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको उपकुलपति डाक्टर रावलले बताए ।
उनले भने, ‘निकै महत्वपूर्ण सम्झौता कार्यक्रम सम्पन्न भएको छ । सबैभन्दा दूर्गममा रहेको मेडिकल कलेज र उच्चतम् प्रविधिको प्रयोग गरी सेवा दिईरहेको आधुनिक मेडिकल कलेजबीचको सहकार्यले प्रतिष्ठानको बृद्धि विकासमा महत्वपूर्ण योगदान आशा छ । कर्णालीका नागरिकले समेत गुणस्तरीय विशषज्ञ सेवा पाउने छन् । प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिको एकआपसमा सहकार्यको सुरुवात भएको छ ।’
२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्यायन, अनुसन्धान तथा सेवा प्रवाहमा उल्लेखीय काम गर्दै आएको छ । यदपी राज्यको उपेक्षा र स्रोत अभावले प्रतिष्ठान समस्यामा छ । (एनटिभि)