रिगल नेपालगन्ज कारागार चलान

बाँके । नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई नेपालगन्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज बिहान साढे १० बजे बाँके जिल्ला अदालत समक्ष बुझाएको थियो । नेपालगन्जको सेतु विक चोकबाट हिजो पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर बाँके अदालतमा बुझाइएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार रिगललाई आज बिहान साढे १० बजेतिर बुझाइए लगत्तै अदालतले नेपालगन्ज कारागार चलान गरेको थियो ।

बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले रिगललाई आज बिहान पौने ११ बजे नेपालगन्ज कारागार कार्यालयमा पठाइएको जानकारी दिए । ‘हामीले उनलाई नेपालगन्ज कारागारमा पठाएका छौं, कारागार व्यवस्थापन विभागले कसरी र कहाँ व्यवस्थापन गर्छ, त्यो उहाँहरूले गर्नुहुन्छ,’ वाग्लेले भने ।

रिगलको कैद मिनाहालाई सर्वोच्च अदालतले हिजो बदर गरेको थियो । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो । अदालतको आदेश लगत्तै रिगललाई प्रहरीले नेपालगन्ज न्यु रोडबाट पक्राउ गरेको थियो ।

नेपालगन्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई सरकारले बाँकी कैद माफी गरेको थियो । बाँकी कैद माफी पाएर ढकाल संविधान दिवसका दिन रिहा भएका थिए ।

तर, त्यस निर्णयविरुद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

Translate »