मुगु सामूहिक हत्या प्रकरण : केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुसन्धानको जिम्मा

गमगढी । मुगु छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले सुरु गरेको छ । सामूहिक हत्या भएको एक साता भन्दा बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाई रहेका बेला अनुसन्धानलाई थप प्रभावकारी बनाई हत्यारा पत्ता लगाउन केन्द्रिय अनुसन्धान ब्यूरोलाई जिम्मा दिईएको हो ।

यही कार्तिक ८ गते हत्या भएको प्रहरी अनुमान रहेपनि प्रहरीले १० गते बिहान ९ बजे मात्र सूचना पाएको थियो । सूचना पश्चात् घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा नेतृत्वको प्रहरीले घर भित्र २८ वर्षिया आमा श्रीदेवी बोहोरा,११ वर्षीया छोरा मनोज बोहोरा,८ वर्षीया छोरी अप्सरा बोहोरा र ८ महिने छोरा रहर बोहराको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।

११ गते हत्याको अनुसन्धान गर्न जुम्ला र कर्णाली प्रदेश प्रहरीबाट अनुसन्धान अधिकृतसहितको र कोहलपुरबाट कुकुर सहितको अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान सुरु गरेका थिए । डक अनुसन्धान टोलिले आवश्यक सूचना दिएर १२ गते नै कोहलपुर फर्कियो भने मुगु डिएसपी विरेन्द्र थापासहितको अन्य २ टोलिले अनुसन्धान जारी राख्यो । वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् ११ गते नै कतारबाट नेपाल फर्केर मुगु पुगेपछि घटना स्थलबाट प्रहरीले चारै लास उठाएर परीक्षणका लागि जिल्ला अस्पताल मुगु पु¥याएको थियो ।

चारै लासको १३ गते सोमबारसम्म सव परिक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म लास नउठाउने अडान श्रीमान् दिपक बोहोरा र आफन्तले लिएपछि शवको केही दिन दाहसंस्कार हुन सकेन । यसैवीच १६ गते बिहान ५ बजे जिल्ला अस्पतालबाट मृत्तकका श्रीमान दिपक बोहोरा एकाएक बेपत्ता भए । उनी मानसिक सन्तुलन गुमाउँदै जान थालेपछि जिल्ला अस्पतालमा उपचारार्थ आफन्तले भर्ना गरेका थिए ।

दिनभरी प्रहरी र स्थानीयहरूले खोजी गरेपनी दिपक १६ गते राती ८ बजे छायानाथ रारा नगरपालिका–४, भामवाडा गाँउमा एक आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परे । फेला परेका दिपकलाई छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जिम्मा लिँदै सम्झाइबुझाइ हत्यारा जो सुकै होस प्रहरीले पत्ता लगाउने र आफूले सघाउने विश्वास दिलाए पछि मृतक श्रीमती, २ छोरा र १ छोरीको लास बुझ्न राजी भएपछि १७ गते चारै जनाको लास बुझेर दाहसंस्कार गरिएको थियो ।

घटना घटेदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै धेरै व्यक्तिहरूसँग सोधपुछ गर्‍यो । ‘फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुल्ली सबै काम हामीले ग¥यौं र अहिले पनि गरिरहेका छौं । सिआइबीले प्रविधि अनुसन्धान गर्ने कार्य अघि बढाएको छ,’ प्रनाउ विरेन्द्र थापाले भने ।

सिआइवी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न सिआईबी टोली खटिएर काम गरिरहेको छ । यस अघिका अनुसन्धान टोलिले फेला पारेका मेनुल्लि तथ्य र सिआईबीले अनुसन्धान गरिरहेको प्रविधि तथ्य केलाउँदै हत्यारा नजिक पुग्न सिआईबीले मुगु घटना अनुसन्धानको जिम्मा लिएको हो । सिआईबीले जिम्मा लिएपनी स्थलगत खटिई अनुसन्धान गरिरहेको टोली र सिआईबी टोलीको समन्वयमा नै आगामी अनुसन्धान अघि बढ्ने र हत्यारा छिट्टै पत्ता लाग्ने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) गोपालचन्द्र भट्टराई बताए ।

मुगु घटनालाई उच्च प्राथमिकतामा राख्दै कर्णाली प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक भिमप्रसाद ढकाल गत १२ गते मुगु पुगेरअनुसन्धानमा सहयोग गरेका थिए । शनिवारबाट केन्द्रिय अनुसन्धान ब्युरो थपिएसँगै मुगुमा सुर्खेत, जुम्ला र मुगु प्रहरी गरि ४ वटा टोलीले सामूहिक हत्या काण्डको अनुसन्धान गरिरहेका छन् ।

‘विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरुसँग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ । यत्रो ४–४ जनाको हत्या भएको छ कयौं जनासँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौं कठिनाइका बाबजुद काम गर्नु पर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला आइपुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्बन्धी क्रियाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवत जावत गर्न कठिनाइ छ ।

यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ,’ प्रनाउ विरेन्द्र थापाले भने । प्रहरीले अहिले प्रविधि र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान गरिरहेको भन्दै उनले अनुसन्धानमा केन्द्रीय सिआइवीको टोली पनि थपिएकाले घटना बारे सबै तथ्य छिट्टै बाहिर आउने विश्वास व्यक्त गरे ।

Translate »