कर्णालीमा आज शोक विदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज शोक विदा दिएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्रीपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा आइतबार विदा दिएको हो ।
बैठकले भूकम्प पीडितलाई राहत वितरण तथा पुर्नस्थापना कार्यलाई एकद्वार प्रणाली मार्फत अघि बढाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बताए । उनले प्रदेश विपद् व्यवस्थापन कोषमा तत्काल दश करोड रुपैयाँ जम्मा गर्ने निर्णय समेत भएको जानकारी दिए ।
उनका अनुसार प्राकृतिक विपद् दुर्घटना वीमाबाट भूकम्पमा परी मृत्यु भएका आफन्तलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ । उद्दार तथा राहत कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित र साान्य प्रभावित पालिकालाई ५ देखि २५ लाख रुपैंयाँ प्रति पालिकाको खातामा पठाउने निर्णय समेत गरेको छ ।
प्रदेशमा यस्ता पालिका नौ वटा रहेका छन् । बैठकले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भएको क्षतिको स्थलगत अध्ययन तथा मूल्यांकन गरेर राहतसँगै पुर्ननिर्माण कार्य शुरु गरिने निर्णय गरेको छ ।
प्रदेश सरकारले आज पनि भूकम्प प्रभावित गाउँहरुमा सुर्खेतबाट राहत सामाग्रीहरु पठाउने कार्य जारी राखेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री जिसीले जानकारी दिए ।
यातायात सम्भावना कम भएका दुर्गम स्थानका लागि हेलिकप्टर तथा यातायातका साधनको पहुँच भएका स्थानमा स्थलमार्गबाट खाद्यान्न तथा लत्ताकपडा लगायतका सामाग्रीहरु भूकम्प प्रभावित क्षेत्रमा पठाईएको उनको भनाइ छ ।
यसैवीच रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक बिदा दिई उद्दारमा एकीकृत हुन आह्वान गरेको बताए ।
उनले कठिन परिस्थितिमा आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारमा जुट्न नगरबासीलाई अनुरोध समेत गरे । भूकम्पपीडितको राहत तथा पुनः स्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख केसीले जानकारी दिए ।
तत्कालका लागि मृतकका परिवारलाई २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उपप्रमुख धनकुमारी शाहीको संयोजकमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिए । उनका अनुसार पहिलो चरणको उद्दार सकिए पनि आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।