भूकम्प प्रभावित जिल्लामा एमालेको बैठक


सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पदाधिकारी बैठकले जाजरकोट र रुकुमपश्चिमको आठबिसकोटमा बैठक गर्ने निर्णय गरेको छ । मंगलबार वीरेन्द्रनगरमा बसेको पदाधिकारी बैठकले भूकम्पपीडितलाई राहत, उद्दार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन पालिकास्तरमा बैठक गर्ने निर्णय गरेको हो ।
प्रदेश अध्यक्ष गुलाबजंग शाहका अनुसार कात्तिक २३ गते जाजरकोट र २५ गते बिहान रुकुमपश्चिमको आठबीसकोटमा बैठक हुनेछ ।बैठकमा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी र सम्बन्धित पालिका कमिटी अध्यक्षको सहभागिता रहेनछ । प्रदेश अध्यक्ष शाहले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण, पुनःस्थापनाका कामलाई सहयोग गर्ने उद्देश्यले बैठकको तयारी गरिएको बताए ।

‘बैठकमा सहभागी हुने सबै पार्टीका नेताहरुलाई भूकम्पप्रभावित बस्तीमा राहतवितरण, उद्दार र पुनःस्थापनाका कार्यमा जोड्नलाई बैठक बोलाइएको हो,’ उनले भने, ‘राहत र पुनःस्थापनाको काम स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक सहभागी हुन निर्देशन गरिएको छ ।’
बैठकले जाजरकोट भूकम्पमा परी मृत्यु भएकानागरिक प्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुमपश्चिममा ५२ गरी १५३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, २५६ जना घाइते भएका छन् ।

