बाँकेको कोहलपुरमा प्लास्टिकका माला बिक्रीमा रोक

बाँके । कोहलपुर नगरपालिकाले प्लास्टिकका फुलमाला र पटाकालगायतका विस्फोटकजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

मङ्गलवार एक सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थ आयात र बिक्री–वितरणमा रोग लगाएको हो ।

नेपाल सरकार वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ ‐१० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डार गर्न पूर्णरूपले रोग लगाउने निर्णय गरेअनुसार रोक लगाइएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले प्लास्टिकजन्य फुलमालाको साटो नगरपालिकाभित्र स्वदेशमै उत्पादित सयपत्री, गोदावरी, मखमली फूलका माला प्रयोग गर्न समेत आग्रह गरे ।

विगतका वर्षझैँ नजिकिँदै गरेको नेपालीहरूको महान् चाड तिहार, छठ पर्वहरूमा प्लास्टिक फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थको प्रयोग बढी हुने र यस्ता प्रकारका वस्तुहरूले मानव जीवन तथा वातावरणमा समेत असर पुग्ने भएकाले प्रयोग नगर्न अनुरोध गरेको छ ।

अनुगमनको क्रममा यदि नेपाल सरकारको निर्णय विपरीत प्लास्टिक फूलमाला र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

Translate »