एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी–पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी–पुष्पलाल लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकका निर्णय बारे जानकारी गराउँदै उपमहासचिव ज्ञवालीले यही मङ्सिर १४ गते झुलाघाटबाट सुरु गरिने अभियानलाई विकास निर्माण र सामाजिक एकताको सन्देश दिन राष्ट्रिय अभियानको रुपमा अघि सारिएको बताए ।

उपमहासचिव ज्ञवालीले विकासका समस्याहरूको पहिचान गर्दै पहाडी क्षेत्रको समृद्धि र नागरिकका निराशा, असन्तृष्टिहरुलाई सम्बोधन गर्दै विकासको माध्यमद्वारा राष्ट्रिय सन्देश निर्माण गर्ने पनि अभियानको उद्देश्य रहेको जानकारी दिए ।

तीन साता सम्म सञ्चालन हुने अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ राखिएको छ । अभियान तयारीका लागि मङ्सिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

Translate »