मुगु सामूहिक हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै

सुर्खेत । मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।

सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी मृतकका नातेदार समेत हुन्।

मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

दिउँसो कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकाल पुगेपछि अभियुक्त र घटनाको विषयमा प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएका तथ्यहरू सार्वजनिक गरिने डिएसपी थापाले जानकारी दिए ।

घटनामा गोरखबहादुरसँगै अन्य एकजना पनि संलग्न रहेको प्रहरीको अनुमान छ । यी सबै विषय दिउँसो २ बजेपछि हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइने डिएसपी थापाले जानकारी दिए ।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सेतोपाटी ।

Translate »