भेरी अस्पतालबाट ४० जना भूकम्पका घाइते डिस्चार्ज, एकै दिन २२ जना घर गए

बाँके । जाजरकोट भूकम्पमा परी घाइते भएर नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ४० जना डिस्चार्ज भएका छन् ।

आज थप २२ जना निको भएर घर फर्केपछि उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या ४० पुगेको हो । शुक्रवार साँझ पनि १३ जना डिस्चार्ज भएका थिए । त्यस अघि ५ जना डिस्चार्ज भएका थिए । सबैजसो जाजरकोट र रुकुम पश्चिमका हुन् ।

उनीहरूलाई सम्बन्धित जिल्लाको घर नजिकसम्म भेरी यातायात व्यवसायी सङ्घको समन्वयमा निःशुल्क पठाइएको हो । बाँके युनेस्को क्लबले उपलब्ध गराएको २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेल समेतको राहत प्याकेजसहित उनीहरूलाई घरतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी बाँकेका श्रावणकुमार पोखरेलले जानकारी दिए । उनीहरूलाई कम्मल र त्रिपाल पनि १÷१ थान विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको छ ।

अब भेरी अस्पतालमा जाजरकोट भूकम्पका १४ जना उपचाररत छन् । ५८ जना उपचारका लागि भर्ना भएकोमा ३ जनालाई काठमाडौं रिफर गरिएको थियो भने एक जनाको मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Translate »