१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर उपप्रधानमन्त्री खड्का रुकुम पुगे

रुकुम पश्चिम । उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर रुकुम पश्चिम पुगेका छन् ।

करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज बिहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुगेका हुन् ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्दार र राहतमा सक्रिय छन् । स्थानीय तह, प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग क्षेत्रमा स्थल र हवाईमार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित भएका छन् ।

उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्‍याउने गरी काम भइरहेको बताए ।

उपप्रधानमन्त्री खड्काले रुकुम पुर्‍याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानको दार्मा गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ ।

Translate »