दुर्घटना बढाउँदै इ-रिक्सा, बाँकेमा एक वर्षमा ११ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा एक वर्षको अवधिमा इ–रिक्सा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा अटो दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षमा २ जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् ।

‘इ–रिक्साका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेकाले सरोकारवालासँग व्यवस्थापनका लागि पहल गरिरहेका छौं,’ बाँके ट्राफिक प्रमुख गोपीकृष्ण सुवेदीले भने, ’इ–रिक्साका कारण दुर्घटना बढेको छ, सामान्य दुर्घटनाको अभिलेखीकरण नै हुँदैन ।’ बाँकेमा मनोमानी ढङ्गले इ–रिक्सा चल्ने गरेका छन् । चालकसँग न चालक अनुमति पत्र छ न सवारी बोक्ने साधनको वैधानिकता । दुर्घटना भए बीमासम्म हुँदैन ।

रातो नम्बर प्लेटका इ(रिक्साले पनि यात्रु ओसारिरहेका छन् । यसमा कडाइ गर्न नेपालगन्ज उपमहानगरपालिकाले १५ दिनपछि रातो प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ । आवश्यकता भन्दा बढी इ–रिक्सा सहरमा गुड्दा दुर्घटनाको जोखिम बढेको हो ।

Translate »