मुगुमा व्यावसायिक फुल खेती नहुँदा बजारमा कृत्रिम मालाको व्यापार

मुगु । हिन्दु धर्मावलम्बीहरूको चाड तिहार नजिकिँदै जाँदा मुगुको सदरमुकाम गमगढी बजारमा व्यापारीहरूले प्लाष्टिक र नाइलनका कृत्रिम मालाहरूले बजार झिलिमिली बनाएका छन् ।

मुगुमा एक, दुई जनाले सीमित रूपमा फुल खेती गरेपनि व्यावसायिक रूपमा कसैले फुलखेति नगरेको पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए । पछिल्ला केही बर्ष यता मुगुका स्थानीय तहहरूले दशै, तिहार लगायत विभिन्न शुभकार्यमा बजारबाट खरिद गरी कृत्रिम फुलको प्रयोग गर्ने भएकाले कृत्रिम फुलको माग बढ्दै गएको पनि अध्यक्ष मल्लको भनाइ छ ।

प्राकृतिक फुलहरूको अभाव भएपछि व्यापारीहररुले कृत्रिम फुलको व्यापार गर्दै आएका हुन् । सयपत्री फुलको खेती गर्ने सम्भाव्य ठाउँ र हावापानी हुँदा हुँदै पनि विभिन्न चाडपर्व र शुभकार्यमा कृत्रिम माला प्रयोग हुँदा खल्लो महसुस हुने गरेको खापरका धामी डिलविक्रम मल्लले भने, ’पुष्प खेती गरेका र गर्न चाहने व्यक्तिहररुलाई स्थानीय निकायहररुले अनुदान सहित प्राविधिक ज्ञान दिन आवश्यक छ ।’

पछिल्ला केही बर्ष यता मुगुमा कपडाका खादा लगायत कृत्रिम फुलका मालाहरूको प्रयोग बढेपछि छायाँनाथरारा नगरपालिकाले नगरक्षेत्र भित्र यसको प्रयोग नगर्न निर्देशन समेत जारी गरेको छ । तिहारमा समेत कृत्रिम फुलको प्रयोग नगर्न रोक लगाएको नगर प्रमुख विष्णुकुमार भामले बताए । उनले फुल खेतीको प्रचुर सम्भावना हुँदा हुँदै पनि सबैले सिजन अनुसार सयपत्री मखमली लगायत विभिन्न जातका फुलहरू उत्पादनमा लाग्न समेत आग्रह गरे ।

व्यावसायिक फुलखेतीमा लाग्न सकेको खण्डमा युवाको रोजगारी बन्न सक्ने पनि नगर प्रमुख भामको भनाइ छ । हाल तिहार नजिकिँदै जाँदा मुगुको मुख्य व्यापारी केन्द्र गमगढी बजारमा किनमेल गर्ने मानिसहरूको भिडभाड बढी चहल पहल सुरु भएको छ । तिहारमा दिदी बहिनीको हात बाट टिका लगाई नक्कली फुलको माला पहिरिँदा अलि खल्लो महसुस हुने र सयपत्री फुलको माला लगाउँदा त्यसको महत्त्व र मन आनन्दित हुने सर्वसाधारण बताउँछन् ।

Translate »