आइएफआरसीद्वारा दश करोड सहयोग

काठमाडौं ।  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’ बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो ।

आइएफआरसीका महासचिव जगन चापागाईँले जाजरकोट भूकम्पपश्चात तत्काल सो रकम उपलब्ध गराउने जानकारी दिँदै नेपालमा मानवीय सेवाका थप सहयोग उपलब्ध गराउने बताए । उनले सामाजिक सञ्जालमा भने, ‘आइएफआरसीले जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । हामी पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि थप सहयोग उपलब्ध गराउँछौँ ।’

आइएफआरसीका काठमाडौँस्थित कार्यक्रम संयोजक तथा प्रवक्ता हर्भे गजेउले नेपाल रेडक्रसले पहिलो दिनदेखि नै भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको जानकारी दिए । उनले भने, ‘आइएफआरसी तथा यसका साझेदारको सहयोगमा प्रभावित जिल्लामा महत्त्वपूर्ण आपत्कालीन सेवा तथा राहत सहयोग प्रदान गरिरहेको छ । पहाडी क्षेत्रमा रहेका यी जिल्ला पहुँचका दृष्टिबाट तुलनात्मकरुपमा कठिन छन् ।

अतिसङ्कटासन्न व्यक्तिसम्म पुग्नुपर्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ र समय घर्किरहेको छ । यस्तो परिस्थितिमा अझ विशेषरुपमा जाडो याम आउन लागेको समयलाई ध्यानमा राखी भूकम्पबाट प्रभावित परिवारलाई नेपालमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय महासङ्घले अपिल जारी गरिरहेको छ ।

‘अन्तर्राष्ट्रिय महासङ्घ तथा यसका साझेदारहरू नेपाल रेडक्रसले यस क्षेत्रमा प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन काम गरिरहेको समयमा यस प्रक्रियामा यस सोसाइटीलाई सहयोग गर्नका लागि निरन्तर सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दछन् ।’

Translate »