जरायोको ४० किलो सुकुटी र भरुवा बन्दुकसहित ४ जना पक्राउ

बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी सिकारीमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

निकुञ्जले पाएको गोप्य सूचनाको आधारमा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बराह ताल गाउँपालिका १, तेलपानीबाट पक्राउ गरेको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा सुर्खेत बराह ताल गाउँपालिका १, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिल बहादुर वली रहेका छन् । चोर सिकारीले निकुञ्ज भित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाए लगत्तै निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेशन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।

पक्राउ परेकाहरूको साथबाट भरुवा बन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामाग्री बरामद गरिएको छ । उनीहरूलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि पक्रिया अगाडी बढाइएको छ ।

Translate »