उपप्रधानमन्त्री खड्काद्वारा प्रदेश सरकार र सुरक्षा प्रमुखसँग छलफल

सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पपछिको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बोलाएर छलफल गरेका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भूकम्पपछिको उद्धार र राहतमा प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरूले पुर्याएको योगदानका लागि संघीय सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उनले भूकम्प पीडितहरूलाई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र भारत, चीन लगायतका देशका साथै अन्तर्राष्ट्रिय दातृ निकायहरू, गैरआवासीय नेपाली, स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई तीनै तहका सरकार र भूकम्प पीडित जनताका तर्फबाट धन्यवाद ज्ञापन गर्दै भूकम्पबाट घाइते हुनु भएकाहरूको उद्दार र राहतको एक चरणको काम सकिएको बताउँदै अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले भूकम्पमा खटिएका सुरक्षा निकायका अधिकृत तथा जवानहरूलाई खटिएको अवधिको गणना गरेर खाजा खर्च उपलब्ध गराउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी दिए ।

छलफलमा सहभागीहरूले भूकम्पपछिको उद्धार र राहतमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले पु¥याएको योगदान र भूमिकाको प्रशंसा गर्दै पीडितहरूलाई तत्कालका लागि अस्थायी आवास निर्माणमा पनि यस्तै सक्रियताको अपेक्षा राखे ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उपप्रधानमन्त्रीको नेतृत्वमा एकै दिनमा घाइतेहरूको उद्दार हुनुका साथै एक साताको अवधिमा पीडितहरूसम्म राहत सामाग्री पुर्‍याउन सकिएको बताउँदै अस्थायी आवास निर्माणमा पनि सक्रियताको खाँचो औँल्याए ।

 

Translate »