बाँके-बर्दियालाई जोड्ने ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माणका लागि सर्भे सुरु


नेपालगन्ज । बाँके र बर्दियाका विभिन्न ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माणका लागि डीपीआर सर्भे सुरु गरेको छ ।
पहिलो चरणमा बर्दियाको गेरुवा गाउँपालिकाको सन्कत्तिघाटबाट डीपीआरको काम सुरु भएको हो । पहिलो चरणमा सुरु गरिएको डीपीआरको सर्भे बारबर्दिया नगरपालिकासम्म भइसकेको छ ।
उक्त पर्यटकीय राजमार्गले नेपालगन्जको राँझा विमानस्थलबाट बाँकेको ऐतिहासिक थारुगाउँ गुरुवा गाउँ, टिटिहिरिया र बर्दियाको बढैयाताल, बारबर्दिया, गेरुवा र राजापुरलाई जोड्नेछ ।

राजमार्ग क्षेत्रमा बाँकेको धार्मिक पर्यटकीय स्थल गुरुवा गाउँ, यस क्षेत्रकै ठूलो बढैयाताल, बर्दियाको इतिहास बोकेको बह्रोबरदिया थनवा, सतखोलवा ताल, कृष्णसार संरक्षण क्षेत्र, ठाकुरद्वाराको हात्तीसार, डल्ला होमस्टे, राजापुरको शैजना टापु लगायतका पर्यटकीय क्षेत्र पुग्न सहज हुनेछ ।
लुम्बिनी प्रदेश सरकारले निर्माणका लागि सर्भे सुरु गरेको यो राजमार्गले इतिहास बोकेका गाउँहरूले न्याय पाउने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले बताए । ६५ देखि ७० किलोमिटर लम्बाई रहने ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग महेन्द्र राजमार्गको वैकल्पिक मार्गको रूपमा रहने उनले बताए ।
बाँके र बर्दियाका महत्त्वपूर्ण पर्यटकीय स्थललाई जोड्ने भएकाले यसलाई लुम्बिनी प्रदेशको महत्त्वपूर्ण राजमार्गको रूपमा लिएको मन्त्री चौधरीले बताए । राजमार्गको निर्माण सम्पन्न भइसकेपछि नेपालगन्जको राँझा विमानस्थलबाट पर्यटकहरू सिधै बाँके र बर्दियाका कुनै पनि पर्यटकीय स्थलसम्म सजिलै पुग्न सक्ने उनले बताए ।

