अख्तियार नेपालगन्जमा ४४५ उजुरी दर्ता

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा उजुरीको चाङ बढ्दैछ । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्ज अन्तर्गत एकै वर्षमा ४४५ उजुरी परेका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा बाँकेका विभिन्न कार्यालयमा अनियमितता भएका ४४५ वटा उजुरी परेको सम्पर्क कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७५ वटा उजुरी दर्ता भएका थिए ।

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फर्स्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा बर्सेनी उजुरीको चाङ थपिँदै जाने गरेको कार्यालयको भनाइ छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कात्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैतमा ५०, वैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षमा दर्ता भएका ४७५ उजुरी मध्ये त्यसअघिल्लको आवबाट जिम्मेवारी सरेर आएका २७३ वटा उजुरी फर्स्यौट भएका थिए ।
जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आर्थिक वर्षको अन्त्यसम्म ७४८ वटा उजुरी फर्स्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फर्स्यौट गर्न सफल भएको छ ।