हत्या आरोपमा ८ जना पक्राउ


बर्दिया । गुलरियामा कुटपिट गरेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । लक्ष्मीपूजाको राति गुलरिया नगरपालिका–५, सन्तोषी–सुहेलवा सडकखण्डमा झडपका क्रममा गुलरिया–६ का २० वर्षीय बरुण घिमिरेको हत्या आरोपमा ८ जना पक्राउ परेका हुन् ।
प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई नियन्त्रणमा लिएको हो ।

घटनामा सहयोगी भूमिका खेलेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा नम्बर ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
पुरानो रिसईबी पोख्न सामूहिक रूपमा कुटपिट गरेको प्रहरीले जनाएको छ । घिमिरेको बर्दिया अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो।
कुटपिटका बेला जोगाउने क्रममा गुलरिया नगरपालिका–६ का २१ वर्षीय मोहित पुन र राजापुर नगरपालिका–६ मनाउका २० वर्षीय रञ्जन कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । घटनास्थलबाट चक्कु, नोख, चिर्पट दाउरा, हेलमेट फेला परेको प्रहरीको भनाइ छ ।

