रोक्का जग्गा बैंक र मालपोतको मिलिमतोमा नामसारी गरेपछि व्यवसायी आन्दोलित

सुर्खेत । सुर्खेत जिल्ला अदालतले रोक्का आदेश दिएको जग्गा बैंक र जिल्ला मालपोतका कर्मचारीहरुको मिलिमतोमा नामसारी गरेपछि सुर्खेतका व्यवसायीहरु आन्दोलित भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्वमा आज व्यवसायीहरुले मालपोत कार्यालय सुर्खेतमा धर्ना दिएका हुन् ।

सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उनकी श्रीमति अर्चना उप्रेतीको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर स्थानीय देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको व्यवसायीको आरोप छ । एनआईसी एशिया बैंकमा उप्रेतीद्वयको नाममा रहेको साबिक जर्बुटा गाविस वडा नं. १ क किता नं २०४० को क्षेत्रफल ०–०–१५ (बिगाह) र सोही वडा १ ख कित्ता नं. ८३५, १८६५, १४०१, १८६६ र १८६३ को क्षेत्रफलहरु क्रमश ः ०–१–१०–०, ०–०–८–१, ०–०–१६–१, ०–०–११–३ र ०–०–८–१ (बिगाह) जग्गालाई सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्नु भनी बैंकलाई आदेश दिएकोमा बैंक र मालपोतका कर्मचारीहरुको मिलेर गत साउन २ गते बैंकबाट फुकुवा गराइै लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको पाईएपछि व्यवसायीहरु आन्दोलित हुनु परेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

उनले दोषीमाथि छानविन गरी सत्यतथ्य बाहिर नआएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाए । जग्गाधनी प्रकाश उप्रेतीले अदालतले रोक्का राख्नु भनी आदेश दिएको तर बैंक र मालपोतका कर्मचारीहरु मिलेर रोक्का राखेको जग्गा फुकुवा गरी देवीराम पौडेलका नाममा दाखिला गरिएको घटनावारे आफूले सोमवार मात्रै थाहा पाएको बताए । उनले अदालतको आदेशलाई समेत बैंक र मालपोतले उल्लंघन गरेर लिलामीमा अर्कैलाई सकार गर्न लगाएको भन्दै यो काममा बैंक र मालपोतको बदमासी भएको आरोप लगाए ।

यता मालपोत कार्यालय सुर्खेतले मङ्सिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंलाई देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविक बमोजिम नै कायम गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको जनाएको छ । मालपोत अधिकृत जनकबहादुर हमालले पठाएको पत्रमा एनआईसी एसिया बैंकमा २०७५ कात्तिक १४ गते रहेको उप्रेतीद्वयका जग्गाहरु २०७९ फागुन ५ गतेको जिल्ला अदालतले रोक्का राखेकोमा लिलाम सकारकर्ता देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविक बमोजिम नै काम गर्न भनिएको छ ।

यस्तै मालपोत अधिकृत हमालले अदालतबाट रोक्का राखेको जग्गाहरु के कति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालयका दुई जना कर्मचारीलाई तीन दिनभित्र स्पष्टिकरण सोधेका छन् । यता एनआईसी एसिया बैंक सुर्खेतले बैंकले सवै प्रक्रियाहरु पूरा गरेर मात्रै लिलाम गरेको भन्दै कुनै जालसाज नगरेको दावी गरेको छ । बैंकका सुर्खेत प्रबन्धक अशोक तिमिल्सेनाले ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रिया अनुसार गरेको भन्दै कुनै जालसाज नगरेको बताए । समयमै ऋण नतिर्दा बैंकले धितो लिलाम गर्नु स्वभाविक भएको भन्दै उनले सबै कामहरु कानुन अनुसार नै प्रक्रिया पूरा गरेको जानकारी दिए ।

Translate »