सहिदको सालिकमा कालो दल्नेलाई कारबाहीको माग

गुलरिया  ।  बर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गिय वेदप्रसाद योगीको सालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारवाहीको माग गरिएको छ ।

नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कत विरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

सोमबार राति अज्ञात व्यक्तिले सालिकमा टाँगिएको झण्डा जलाई मुखमा कालो पोतिदिएका छन् । नेकपा माओवादी केन्द्र मधुवन नगरसमितिका इन्चार्ज शुरेस पन्थ, अध्यक्ष हरिहर चौधरी र सचिव युक्तसिंह केसीले संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गर्दै यस्ता गतिविधिबाट पार्टी सचेत भई गम्भीरतापूर्वक लिइएकाले सजगताका साथ निगरानी गर्दै सम्यमतापूर्वक तरिकाले अघि बढ्ने बताएका छन् ।

कायरतापूर्ण हरकतले कुना कन्दरमा बैरी अवशेषको अनुभूति दिलाएको बताउँदै निन्दनीय गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग माग गरिएको छ ।

२०१३ सालमा जन्मिएका जनयुद्धका सहिद योगी द्वन्दका क्रममा ज्यान गुमाएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २०७३ जेठ ३० गते सालिकको शिलान्यास गरेका थिए ।

Translate »