भ्रष्टाचार, महंगी नियन्त्रण र सुशासनको माग राख्दै तीनकुनेमा युवा संघका कार्यकर्ता


काठमाडौं । नेकपा (एमाले) निकट युवा सङ्घले भ्रष्टाचार, महंगी नियन्त्रण र सुशासनको माग राख्दै तीनकुनेमा प्रदर्शन गरिरहेको छ । भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध काठमाडौंमा राष्ट्रिय युवा सघं नेपाल र अनेरास्ववियुले जनप्रदर्शन गरेको हो । उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस तीनकुनेमा आइपुगेको छ र पुन तीनकुनेबाट कोटेश्वरतर्फ र्याली अगाडि बढेको छ।

युवा सङ्घका कार्यकर्ताहरू प्रदर्शनका क्रममा नाचगान गरिरहेका छन् । कार्यकर्ताहरू भेला हुने क्रममा तीनकुने आइपुगेका कार्यकर्ताहरू भने नाचगानमा व्यस्त छन् । यसपछि तीनकुनेबाट निस्केको र्याली कोटेश्वर पुग्ने र कोटेश्वरबाट पुन तीनकुनेमै आइ कोणसभा गरिने बताइएको छ ।
आज राजधानीमा दुई समूहले प्रदर्शन गरिरहेका छन् । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरिरहेको छ भने नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरिरहेको छ ।
यसअघि बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो । बिहीबार मध्यान्हमा बल्खु पुगेका युवा संघ कार्यकर्ता र प्रसाई पक्षबीच ढुंगा हानाहान भएको हो । युवा संघका कार्यकर्ता तीनकुने जानेक्रमा बल्खु पुगेपछि झडप भएको हो ।

