शेयर सदस्य बढाउँदै कर्मचारी सहकारी


सुर्खेत । कर्मचारी यूनियन बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्य बढाउँदै लगेको छ । देशमा आर्थिक मन्दीका वावजुद संस्थाले आफ्ना शेयर सदस्यलाई सहकारीको महत्व बुझाउँदै लगेपछि ६६ प्रतिशत शेयर सदस्य बृद्धि गर्न सफल भएको हो ।
संस्थाको शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न १४ औं वार्षिक साधारण सभामा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले कर्मचारीद्वारा कर्मचारीका लागि खोलिएको सहकारीले विभिन्न आरोह–अबरोहका वावजुद उल्लेखनिय आर्थिक प्रगति गरेको प्रति धन्यवाद व्यक्त गरे ।
सहकारीको मर्म उद्देश्यलाई आत्मसाथ गर्दै समग्र कर्मचारीको आर्थिक समृद्धिमा टेवा पुग्ने गरी समय साक्षेप नयाँ रणनीति बनाएर अघि बढ्न उनले सुझाव दिए ।


कार्यक्रममा कर्मचारी यूनियनका सल्लाहकार विष्णुदत्त रेग्मी, राजेशकुमार बुढा, युनियनका कर्णाली प्रदेश समिति उपाध्यक्ष कर्णबहादुर थापा, सचिव काशिराम भट्टराई, युनियन सुर्खेतका अध्यक्ष गणेशकुमार थापा र स्वाथ्य कर्मी संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापा एवं आधिकारीक ट्रेड युनियन सुर्खेतका सदस्य धर्मवीर पल्लीमगरले आर्थिक समृद्धि विना कर्मचारीको विकास हुन नसक्ने भएकाले सहकारी मार्फत देश निर्माणमा जुट्न आग्रह गरे ।
उनीहरुले पछिल्ला वर्षहरुमा सहकारीले सोचे अनुरुप प्रगतिको प्रतिशत बढाउन नसकेपनि अब उच्च मनोवलका साथ आर्थिक समृद्धिका लागि हातेमालो गर्न आवश्यक रहेको औल्याए ।
कार्यक्रममा संस्था अध्यक्ष मेघनाथ सापकोटाले १७५ शेयर सदस्यबाट बृद्धि गर्दै २८५ जना पु¥याएर ६ लाख ३० हजार ७ रुपैयाँ शेयर रकम पुगेको जानकारी दिए । उनले सहकारीको हालसम्म बचत रकम ५७ लाख १८ हजार ४० रुपैयाँ रहेको बताए ।
कर्मचारी यूनियनका सदस्यहरुलाई गोलबन्द गर्न सहकारी सम्बन्ध महत्वपूर्ण माध्यम बनेको बताउँदै उनले सफल र सक्षम बन्न हरेक स्तरबाट लक्ष्यसहितको एकजुट हुन अपरिहार्य रहेको औल्याए । सहकारीको यो यात्रासम्म साथ तथा सहयोग दिने सबै तह र तप्काका शेयर सदस्यहरुलाई समेत उनले धन्यवाद व्यक्त गरे ।


