विकास निर्माण हामीले गर्ने हो, उद्घाटन अरूलाई गर्न दिने हो : एमाले अध्यक्ष ओली


अछाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएएका छन् ।
मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा अछामको सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले अन्य पार्टीले विकास गर्नुको साटो वितण्डा मात्रै मच्चाएको जिकिर गरे । उनले ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिए ।
पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे । ‘पछिल्लो समय देशमा अराजकता मच्चिरहेको छ।’ उनले भने, ‘नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजिरहेका छन् ।’

अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठूलो भएको बताए । उलने पहिलो शहीद बाकाबिर, किसान आन्दोलनमा रहेर शहीद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गरे । ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागि प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको जनाए ।
यसअघि अध्यक्ष ओलीले मुलुकको विकास एमाले बाहेक अरू कसैले गर्न नसक्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा शुक्रबार डोटी जिल्ला सदरमुकाम सिलगढी टुडिखेलमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले भने, ‘विकास निर्माण हामीले गर्ने हो, उद्घाटन अरूलाई गर्न दिने हो ।’
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास रोकिएको जनाए । गठबन्धन सरकार आएपछि देशमा अस्थिरता बढेको, अराजकता फैलिएको र अर्थतन्त्र ओरालो लागेको उनले बताए । नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि आफूहरू देशभरको अवस्था बुझ्न महाकाली–मेची अभियानमा निस्केको उनले स्पष्ट पारे ।
यसपाली झुलाघाट–चिवाभञ्ज्याङ सम्वृदिका लागि संकल्प यात्रा अन्तर्गत २ हजार किलोमिटर भन्दा वढीको यात्रा गरेर अध्ययन गर्ने अध्यक्ष ओलीले जानकारी दिए ।

