रुकुम पश्चिममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, नौ घाइते

चौरजहारी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राडी बजारबाट घर्तीगाउँ जाँदै गरेको रा १ द–४६ नम्वरको ट्याक्टर आठबिसकोट–१० मा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ ।
मुत्यु हुनेमा आठबिसकोट नगरपालिका–१०, नाउलाका ४६ वर्षिय लोकबहादुर शाही, उनकी ४२ वर्षिया श्रीमती चुट्की शाही, सोही ठाउँका भैडाँडा बस्ने ५२ वर्षिय हरदर साकी, ४८ वर्षिय धनराम सार्की र ४७ वर्षिया निर्मला सार्की रहेका छन् ।
प्रहरीका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । अहिले घाईतेको स्थानीय आठबिसकोट अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना लगत्तै घटनास्थलमा एम्बुलेन्स, प्रहरी र नगरप्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख नमराज भट्टराईले बताए । उनले फरार ट्¥याक्टर चालकलाई समेत नियन्त्रणमा लिईसकेको जानकारी दिए ।
