मध्य पहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेछौं : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहररुको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताएका छन् । पार्टीले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले भने, ‘समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौं । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौं ।’
उनले मध्य पहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने पनि बताए ।
बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको यात्रा यही पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन भएको थियो ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ को मर्म एवं भावनाअनुररुप उक्त अभियानमा ३० जिल्ला, दुई हजार किलोमिटर भन्दा बढी यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरू, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहररुका माध्यमबाट लाखौं नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ । रासस