संविधानमा लेखिएका अधिकार कार्यान्वयनगर्न अझैं मिहेनत गर्नुपर्ने अवस्था छ : नगर प्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले महिला–पुरुषको विभेद अन्त्यको व्यवस्था गरेपनि पूर्ण कार्यान्वयनमा आउन नसकेको बताएकी छन् । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को सोमबार आयोजित २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेखित महिलाहकलाई व्यवहारमा लागू गर्न अझैं संघर्ष गर्नुपर्ने बताएकी हुन् ।

नगर प्रमुख ढकालले कानून, नीति र नियम नबन्दा महिला र पुरुष बीच कतिपय सन्दर्भमा विभेद कायमै रहेको बताइन् । पारिवारिक जिम्मेवारी जस्तै सामाजिक, प्रशासनिक र राजनीतिक जिम्मेवारी पुरा गर्न महिला सक्षम रहेको उनको भनाई थियो ।

‘अहिलेसम्म महिलाले सम्हालेको नेतृत्व उदाहरणीय छ,’ उनले भनिन्, ‘न्यायिक समिति, योजनानिर्माणको जिम्मेवारी विभेद रहित तरिकाले सम्पन्न भएका छन्, जिम्मेवारी पाएपछि सबैले पुरा गर्न सक्छन्, तर अझैं मिहेनत गर्नुपर्ने अवस्था छ ।’

संविधान निर्माणमा हामी सबैको योगदान र लगानी भएकै कारण महिलाहक र अधिकार सुनिश्चित भएको बताउँदै भनिन्, ‘आज देशव्यापीमाप्रमुख र उपप्रमुखमध्ये एक महिला, वडामा दलितमहिला र महिला हुनुहुन्छ, कानून महत्वपूर्ण कुरा हो ।’ महिलाहरु पनि आत्मनिर्भर बन्नुपर्छ, पेशा व्यवसायमा जोडिनुपर्छ भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले समाजमा धेरै राम्रा कार्यहरु गरेकोमा उनले प्रसंशा व्यक्त गरिन ।

वीरेन्द्रनगर १२ का वडाध्यक्ष चुडामणी चपाईले वामले समाजम ाउदाहरणीय कार्य गरेको भन्दै वडा कार्यालय सहकार्य गर्न तत्पर रहेको बताए । वडामा निकै राम्राकामहरु भएको भन्दै उनले समाजले राम्रा कामको प्रसंशा गर्न चुकेको टिप्पणी गरे ।

संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता र सचिव यामकुमारी लामिछानेले सञ्चालन गरेको समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु राना क्षेत्री र महासचिव अमृताकुमारी आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माया नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिईन् ।

साधारण सभाको अवसरमा संस्थामा महत्वपूर्ण योगदान निर्वाह गरेका कर्मचारी र पूर्व कर्मचारीलाई प्रसंशापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्तअवसरमा संस्थाका पूर्व कार्यक्रम संयोजक प्रतिमा परियार र संस्थामा लामो समयदेखि सहयोगी कर्मचारीको रुपमा कार्यरत मानकुमारी ढकाललाई सम्मान गरिएको थियो ।

साथै साधारणसभामा संस्थाद्धारा सञ्चालित सामुदायिक सुरक्षा जालो परियोजनाको सहयोगमा वीरेन्द्रनगर १२ स्थित हस्तबीर आधारभूत विद्यालयका १६ र अमरज्योति माविका ३ जना गरी १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

Translate »