अस्थायी रुट परमिट

पश्चिम सुर्खेतका थुप्रै सडकमा गुड्ने सवारी साधनलाई अस्थाई रुटपरमिट जारी गर्न लागिएको छ । पश्चिममा पहिलो पटक बड्डीचौर गुटुसम्म २०६५ सालमा अस्थायी रुटपरमिट जारी गरिएको थियो । सडकमा गुड्ने सवारी साधनहरुको नियमन तथा कानूनी आधिकारिकता दिने काम यातायात कार्यालयलाई तोकिएको छ । जिल्लामै यातायात कार्यालय स्थापना भएको पनि करिब १० वर्ष पुग्न थाल्यो । तर, यातायात क्षेत्रको नियमनमा सरकारी वेवास्ताले अहिलेसम्म पश्चिम सुर्खेतका सडकहरुमा स्थायी रुटपरमिट जारी गर्न सकिएको छैन। देश संघीयतामा गएसँगै तीनै तहका सरकारले सडकलाई प्राथमिकता दिएपछि ठाउँ–ठाउँमा सडक बनाउने होडबाजी चलेको छ । कपिपय ठाउँमा व्यवस्थित सडक बनाईएका छन भने कतिपय ठाउँमा आफ्नो स्वार्थअनुकुलताका सडक बनाईएका छन् । मुख्यतह ग्रामीण सडकहरुको अवस्था अझैपनि आवश्यकता र वैज्ञानिक हिसावले बनाईएका छैनन् । उसो त नहुनु भन्दा सडक हुनुलाई आम नागरिकले सहजता महसुस गर्छन् । सडक बनेपछि त्यसले दिने प्रतिफल र दिर्घकालिन लाभलाई ध्यानमा राख्दै आवश्यकतालाई प्राथमिकता दिनु पथ्र्यो त्यो भने देखिदैन् । यद्यपि ! यातायात व्यवस्थापन समितिले पश्चिमका सडकहरुमा गुड्ने सवारी साधनलाई अस्थायी रुट परमिट जारी गर्ने अन्तिम तयारी पुरा गरेको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले पश्चिम सुर्खेतका मापदण्ड पुगेका सडकहरुमा गुड्ने सवारी साधनलाई अस्थायी रुट परमिट जारी गर्दैछ । यो पश्चिम सुर्खेतका सडकहरुमा गुड्ने यातायातका सवारी साधनका लागि खुशीको कुरा हो । बैठकले प्राविधिकसहितको अनुगमन टोलीको प्रतिवेदनका आधारमा नयाँ भाडादरसहित पहिलो चरणमा अस्थायी रुट परमिट जारी गर्ने निर्णय गरेको छ । बैठकले बाबियाचौरदेखि कुइने, जामु–राग–विद्यापुर, चौर–लाम्काने–व्यूरेनी, गुटु–लगाम, घाटगाउँ–गुटु–साल्म र घाटगाउँ–विजौरा सडकहरुमा गुड्ने सवारी साधनहरुलाई अस्थायी रुट परमिट जारी गर्दैछ । प्राविधिक टोलीबाट सडकहरुको अनुगमन पश्चात तयार पारिएको रिपोर्ट माथि व्यापक छलफल गरी सवारी साधनलाई अस्थायी रुट परमिट जारी गर्न लागिएको हो । अस्थायी रुट परमिट जारी भएपछि नयाँ भाडा दर समेत कायम गरिने छ । अहिले रुट परमिट नपाएका पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनले यात्रुबाट मनपरी चर्को भाडा असुल्दै आएका छन् । रुटपरमिट नपाउँदा त्यसक्षेत्रका यातायात व्यवसायीले जोखिम मोलेर सवारी साधन गुडाउँदै आएपछि महँगो भाडा लिने गरेका हुन् । नागरिकस्तरबाटै पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनलाई रुट परमिट जारी गर्नुपर्ने आवाज लामो समयदेखि आईरहेको थियो ।
नागरिकका मागलाई सम्बोधन गर्दै रुटपरमिट जारी गर्ने स्थानीय प्रशासनले गरेको निर्णय पश्चिम सुर्खेत बासीले स्वागतयोग्य कदम भनेका छन् । रुट परमिट इजाजत पाएपछि पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनलाई कानूनी सहजतासँगै यात्रुलाई समेत सुविधा पुग्ने विश्वास छ । तर सरकारी स्तरबाट ढिलैभएपनि पश्चिम सुर्खेतका नागरिकको मागलाई सम्बोधन भएपनि अझै एक दर्जन बढी सडकहरुमा गुड्ने सवारी साधनलाई समेत रुट परमिट जारी गर्न आवश्यक देखिन्छ । त्यस तर्फपनि समयै सम्बन्धित पक्षको ध्यान पुग्न जरुरी छ । समयअभावका कारण प्राविधिक टोलीले पहिलो चरणमा अनुगमन गर्न नसकेका कल्याणकाँध–भक्तडी र पलाईटे–चिउरीखेत–सुवाछेडा सडकलाई समेत समय मिलाएर रुटपरमिट जारी गरिनु पर्छ । आम नागरिकले भोग्नु परेका समस्याहरुप्रति जनप्रतिनिधिहरु बेखर भएपनि सामाजिक अभियन्ताहरुको खरो खबरदारीले विकासको गतिलाई अगाडि बढाउन सहज भएको छ । यद्यपि ! सरकार र राजनीतिक दलहरुको नजरमा पर्न नसकेको पश्चिम सुर्खेतको विकासका लागि ठेकेदार नेताहरु बाधक छन् । राजनीतिक आवरणको खोल ओढेका समाज र विकास विरोधी तत्वहरुको भण्डाफोड गर्न नागरिक खबरदारी अपरिहार्य हुन्छ । विभिन्न विचार, आस्था भन्दा माथि उठेर विकास विरोधी तत्वहरुलाई निस्तेज गर्नु नै पर्छ ।