कर्णालीमा राष्ट्रिय सभा सदस्यका उम्मेदवार विष्णु विक विरुद्ध उजुरी दर्ता
सुर्खेत । कर्णालीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका एक जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा आज सत्तारुढ गठबन्धनका दलित समूहबाट उम्मेदवारी दिएका विष्णु विक विरुद्ध उजुरी दर्ता भएको हो ।
नेकपा माओवादी केन्द्र (कालिकोट) का विष्णु विकको विरोधमा सोही समूहबाट उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका हिक्मत विकले उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
कालिकोटका विष्णु विक यसअघि प्रतिनिधि सभा निर्वाचनमा दलित तर्फको समानुपातिक बन्द सुचीमा रहेको निवेदकको दावी छ । निवेदक हिक्मत विक नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार हुन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो ।
उम्मेदवारीउपर पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते प्रदान गरिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । उनले कर्णालीबाट निर्वाचनमा तीन पदका लागि महिला, दलित, अन्य समुदायबाट ६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।