२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

चंखेलीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं ।  हुम्लाकाे चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रूद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र ३ नम्बरका वडाध्यक्ष सालिग्राम ऐडीविरूद्ध विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा उनीहरुले अनियमितता गरेका थिए । उनीहरूले फिल्ड निर्माण कार्यमा वास्तविक काम भएको भन्दा बढी मूल्यांकन गरेको अख्तियारको आरोप छ।

काम गरेभन्दा बढी काम भएको देखाएर बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी ११ लाख ९४ हजार रुपैयाँ बढी भुक्तानी दिएको पाइएकाले त्यसबराबर बिगो जफत गरी कैद र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको हो।

उक्त निर्माणस्थलमा भए/गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेरनगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ङ) बमोजिमको कसुर गरेको अख्तियारले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार
Translate »