कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरियो


सुर्खेत । कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । केन्द्र सरकारमा सत्ता गठबन्धन परिवर्तन भएसँगै मंगलबार कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको हो ।
प्रदेश सरकारमा आर्थिक मामिला योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग पर्यटन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् ।

उनीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा बुझाएका हुन् । सरकार छोड्नुअघि कांग्रेसबाट सहभागी तीन जना मन्त्रीले सामुहिक पत्रकार सम्मेलन गरेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पार्टीको निर्देशन बमोजिम जनताका पक्षमा रहेर काम गरेको बताए ।
उनले राष्ट्रिय राजनीतिमा आएको बद्लावलाई अन्यथा नलिई पार्टीको निर्देशनबमोजिम राजीनामा दिएको जनाए । सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि कांग्रेसले फिर्ता लिएको छ ।


