२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

सादा पोसाकका ‘घुमुवा’ प्रहरी परिचालन रोकियो



काठमाडौं । नेपाल प्रहरीले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस्तो निर्देशन दिएका हुन ।

उनको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो ।

‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सात वटै प्रदेश प्रहरी कार्यालय सबै (७), सात वटै नेपाल प्रहरी प्रदेश कार्यालयलाई निर्देशन दिएका हो ।

प्रकाशित मिति : २०८० चैत १५ गते बिहीबार
Translate »