शैक्षिक गुणस्तर सुधारका लागि ‘मार्च टु लोकल लेभल २०२४’ अभियान शुरु

सुर्खेत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतले सांगठनिक सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष अभियान शुरु गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘अभिमुखिकरण, प्रशिक्षण तथा कार्यशाला एवं सहकारी शिक्षा शिविर कार्यक्रम’ मार्फत जिल्लाका नौ वटा पालिकाका ९९ वटै वडासम्म पुग्ने गरी ‘मार्च टु लोकल लेभल २०२४’ अभियान शुरु गरेको हो ।

अभियानले विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धि गर्दै पेशागत तथा टे«ड युनियन अधिकार रक्षाका लागि सशक्त संगठन निर्माण गर्दै योजनाहरुको मार्गचित्र तय गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय महासचिव हंसबहादुर शाहीले शैक्षिक रुपान्तरणका लागि आमुल परिवर्तन ल्याउन बलियो शक्ति निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले शैक्षिक गुणस्तर विद्यालय स्तरसम्म पु¥याउन शिक्षकहरुले कार्यथलोमा आफुलाई अब्बल शिक्षकका रुपमा सावित गर्न आवश्यक रहेको औल्याए । सशक्त संगठन निर्माण मार्फत वर्तमानमा देखिएका चुनौतीहरुको साम्ना गर्नका लागि ‘मार्च टु लोकल लेभल २०२४’ अभियानले सबै शिक्षकहरुलाई आकर्षित बनाउनेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न पेशागत संघसंगठनहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो पेशालाई मर्यादित बनाउनका लागि कक्षा कोठामा अब्बल शिक्षकका रुपमा स्थापित हुनुपर्ने बेला आएको औल्याए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य रत्नबहादुर बुढाले शिक्षक सरुवा प्रक्रियामा विभिन्न चरणहरु पार गर्नुपर्ने झंझटिलो अवस्थाबाट शिक्षकहरुले सास्ती भोग्नु परिरहेको बताए ।

‘शिक्षक सरुवामा भईरहेको चलखेल र बेइमान तत्काल नरोकिए भ्रष्ट्राचार बढ्ने मात्र होइन, पेशाप्रति नै वितृष्णा जगाउँछ,’ उनले भने, ‘शिक्षा विकास तथा समन्वय ईकाई, प्रदेश महासंघ, जिल्ला महासंघ, पालिकाका शिक्षा प्रमुख, तथा जनप्रतिनिधि वीच समन्वयात्मक बैठक बसि समस्या तत्काल समाधान गरिनु पर्छ ।’

कार्यक्रममा नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढालबहादुर खत्रीले थोरै विद्यार्थी संख्यामा सञ्चालित विद्यालयहरुलाई समेटेर ‘मेघा’ विद्यालय स्थापित गरी शैक्षिक गुणस्तर कायम गर्न सकिने जानकारी दिए । उनले दक्षिण कोरिया भ्रमणबाट प्राप्त शैक्षिक अनुभव सुनाउँदै समय सापेक्ष प्रविधियुक्त, शिक्षण विधि अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीले संसदमा विचाराधिन विद्यालय शिक्षा ऐन २०८० जारी गराउन सरकारलाई दवाव दिन आवश्यक रहेको औल्याए ।

‘एकद्वारा प्रणालीबाट शिक्षक नियुक्त नगरेसम्म विद्यालयमा शिक्षक–शिक्षक वीच रहेको विभेद कायम रहि रहनेछ,’ उनले भने, ‘शिक्षामा रहेको विभेद नहटेसम्म देशले चाहेको शैक्षिक गुणस्तर उकास्न सकिन्न । त्यसैले सबै प्रकारका अस्थायी शिक्षक–कर्मचारीहरुलाई तुरुन्त ऐन जारी गरी स्थायी गरिनु पर्छ ।’

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश अध्यक्ष मोहन गौतम, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देबेन्द्रराज अधिकारी, कर्णाली प्रदेशका सदस्य तेजेन्द्रकुमार गाहा, प्रदेशकासदस्य चन्द्राकुमारी भट्टराई, कर्णाली प्रदेशका केन्द्रिय प्रतिनिधि चन्द्रा आचार्य, पेशागत महासंघ सुर्खेतका अध्यक्ष रिता पौडेल, पेशागत महासंघ सुर्खेतका पूर्व अध्यक्ष रामबहादुर शाही, नेपाल शिक्षक महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष कृष्णबहादुर थापालगायतले ‘मार्च टु लोकल लेभल २०२४’ अभियान सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका उपाध्यक्ष हरिमाया कोइरालाल, नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका सचिव दलबहादुर शाही, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद ढकाल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक लक्ष्मी बास्तोला, नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका प्रचार तथा प्रकाशन विभाग सदस्य भूपेन्द्र विसीले ‘मार्च टु लोकल लेभल २०२४’ अभियानलाई सफल बनाउन सबै पक्षसँग आग्रह गरे ।

Translate »